सामाजिक सञ्जाल फेसबुकमा नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क (निमजिन) ले पत्रकारहरूका लागि लेखनवृत्ति आह्वान गरेको सूचना भेटें, जुन ‘जलवायु परिवर्तनले पारेको गैरआर्थिक हानिनोक्सानी’ सम्बन्धी खोजमूलक स्टोरी उत्पादनका लागि थियो ।
विषय पढ्नेबित्तिकै मेरो दिमागमा आयो- मुस्ताङ । त्यहाँको सांस्कृतिक तथा पुरातात्त्विक सम्पदा तथा जीवनशैली र अरू पक्षहरू पनि सरसर्ती दिमागमा आए ।
लेखनवृत्ति आह्वानको सूचना पढेपछि ए ! त्यो त भइहाल्छ नि भन्ने सोचेको थिएँ । तर, मुस्ताङको कुन कुरा जलवायु परिवर्तनका कारण भएको गैरआर्थिक हानिनोक्सानी हो भन्ने खुट्याउन अलमलमा परें । मैले त जलवायु परिवर्तनको असरलाई आर्थिक र गैरआर्थिक हानिनोक्सानी के हो भनेर छुट्याउन जानेकै रहेनछु ।
त्यसपछि, मैले अरू सबै काम छोडेर तीन दिन गैरआर्थिक हानिनोक्सानीका बारेमा अध्ययन गरेँ । जलवायु परिवर्तनका असरको गहिराइ, यसका आर्थिक र गैरआर्थिक नोक्सानीका भेद पढेपछि मेरो मन, मस्तिष्क र दिमाग भुरुरु उडेर फेरि मुस्ताङ पुग्यो ।
पहिला पहिला मुस्ताङ डुल्दाघुम्दा देखेका, अनुभव गरेका र सुनेका कथावस्तुहरू सम्झिएँ । लेखनवृत्तिका लागि २ वटा विषय छनोट गर्नु थियो । मेरो सूचीमा परे– थातथलो छोडेपछिका ध्ये र साम्जोङको भविष्य र उपल्लो मुस्ताङका सांस्कृतिक सम्पदा ।
विषय छनोट गरेपछि स्टोरी पिचहरूको फ्रेम बनाएँ, अनि लाग्यो स्टोरी प्रस्ताव गर्नयोग्य छ ।

परम्परागत पत्रकारितामा हामीले फिल्ड पुग्ने त्यहाँ जो देख्यो, जे कुरा भेटियो त्यो टिपेर ल्याएर समाचार बनाउने चलन थियो । तर निमजिनमा स्टोरीको प्रस्ताव गर्नु पहिल्यै ‘कथाको विषय प्रस्ट हुनुपर्थ्यो । स्टोरीको परिकल्पना, प्रमाण तथ्यहरू संकलन गर्ने र स्टोरी गर्ने विधिलगायतमा प्रस्ट भएर निमजिनलाई बुझाउनुपर्थ्यो, मैले बुझाएँ ।
स्टोरी पिच गरेपछि मेरो स्टोरी आइडिया सर्ट लिस्टमा परेको जानकारी पाएँ र अनलाइनबाटै अन्तर्वार्तामा सहभागी भएर स्टोरी आइडियालाई थप व्याख्या गरेँ ।
सबै प्रक्रिया पूरा गरेको केही दिनपछि निमजिनबाट मेरो स्टोरी आइडियाहरू छनोट भएको जानकारी आयो । निमजिमको सम्पादकीय टोलीसँग छलफल गरेपछि मेरो पहिलाको स्टोरी आइडियामा केही परिमार्जन पनि भयो र रिपोर्टिंङको प्रक्रियामा लागेँ । नेपालको मूलधारको मिडियामा संलग्न भएर लामो समय पत्रकारिता गरेको भए पनि यसअघि कुनै पनि समाचार विषयमा सम्पादक र टिमसँग प्रस्तावित विषयमा यति गहन छलफल गरेकै थिइनँ ।
रिपोर्टिंङमा जानअघि फिल्डमा आउन सक्ने जोखिमको विश्लेषण गर्नुपर्थ्यो । प्रस्तावित विषयलाई स्टोरीले पुस्ट्याइँ गर्ने आधार प्रमाण पेस गर्नुपर्थ्यो ।
यो सबै प्रक्रियापछि तिहारको संघारमा म मेरो कार्यस्थल म्याग्दी सदरमुकाम बेनीबाट बस, जिप र मोटरसाइकलमा यात्रा गर्दै दुई दिन र अर्को एक बिहानमा साम्जोङ पुगेँ । साम्जोङ त्यही ठाउँ थियो, जहाँ पानी सुकेपछि सबै गाउँले बसाइँ सरेका थिए ।

उपल्लो मुस्ताङका यातायात भाडा, खाना, आवास सबै धेरै नै महँंगो थियो । म दुई दिन साम्जोङमा र एक एक दिन छोसेर र नाम्सुङ बसेर आवश्यक सूचना र जानकारी संकलन गरेपछि तिहार मनाउन फर्केँ । बेनी फर्केर फिल्डमा संकलन गरेका कुराहरू विश्लेषण गर्न थालेँ ।
स्टोरीको फ्रेमलाई लिखित रूपमा रिस्ट्रक्चर गरेँ । तर मलाई साम्जोङमा गएर लिएका तस्बिर, भिडियो, संकलन गरेका स्टोरी र विषयहरू अधुरो भएको महसुस भएपछि दोस्रो पटक फेरि साम्जोङ क्षेत्रमा पुगेँ । जलवायु परिवर्तनका कारण पानी सुकेर अर्कै ठाउँमा बसाइँ सरेका ‘जलवायु शरणार्थीसँग’ थप कुराकानी गरेँ, त्यहाँका जनप्रतिनिधि भेटेँ, सामाजिक अगुवाहरूसँग कुरा गरेर फर्केँ ।

दोस्रो पटकको फिल्ड भिजिटमा प्राप्त सूचना र तथ्यांकहरूलाई स्टोरीमा समावेश गरेर लेखन सुरु गरें । स्टोरीका आएका कुराहरूलाई विषय विज्ञहरूसँग, रिसर्चरहरूसँग क्रसचेक गर्दै पुस्ट्याइँहरू थप्दै गर्न अर्को चुनौती भयो । किनभने जिल्लामा कुनै पनि विषयविज्ञ नपाइने, जलवायु विषयसँग सम्बन्धित निकाय, विज्ञ, रिसर्चरहरू खोज्न मुस्किल भए पनि निमजिन टिमसँगको नियमित अन्तरक्रियात्मक सम्बन्धले चुनौती पनि पार भयो ।
नेपालीमा उखान छ– घन घोटी बञ्चरो । त्यो उखानजस्तै गरेर अन्ततः मेरा दुई वटा स्टोरी अंग्रेजी र नेपाली दुवै भाषामा प्रकाशित भए । पहिलो स्टोरी साम्जोङ गाउँको बसाइँसराइबारे थियो भने दोस्रो स्टोरी जलवायु परिवर्तनका कारण उपल्लो मुस्ताङले सांस्कृतिक पहिचान र अस्तित्व गुमाउने खतराका बारेमा । मैले गरेका स्टोरीको छोटो भिडियो सामग्री पनि बनाएकाे छु ।
यी दुवै स्टोरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पाठकसमक्ष पुगे र राम्रो प्रतिक्रिया पाएँ । सम्पूर्ण प्रक्रिया, सहयोग, समर्थन र अवसरका लागि निमजिनलाई धेरैधेरै धन्यवाद ।
मुस्ताङले सांस्कृतिक पहिचान र अस्तित्व गुमाउने खतरा सम्बन्धी स्टोरीको भिडियो सामग्री
साम्जोङ गाउँको बसाइँसराइबारेको भिडियो सामग्री
यो सामग्री पुन: प्रकाशन गर्न चाहनुहुन्छ भने हाम्रो पुन:प्रकाशन नीति अनुसार प्रकाशन गर्नुहोस् । पुन:प्रकाशन निर्देशिका यहाँ छ ।