Navigation
बर्सेनि बढ्दै चट्याङ: ग्रामीण क्षेत्रमा नसोचेको क्षति Reena Thapa | May 20, 2025


गड्याङगुडुङको आवाज सुन्नेबित्तिकै झस्कन्छन् बागलुङका गोविन्दप्रसाद गौतम । वर्षात्को समयमा कहीँ कतैबाट ठूलो आवाज आए पनि उनी तर्सिहाल्छन् । गड्याङगुडुङ र वर्षात्सँगको उनको यो डर पहिल्यैदेखिको भने होइन । 

investigation-1719398034.pngजेठ ५, २०८१ को साँझ बागलुङ नगरपालिका–८ स्थित घरमै आराम गरेर बसिरहेका थिए गोविन्दप्रसाद । एक्कासि बिजुलीले झट्का दियो, उनले भेउ पाउनै सकेनन्, भर्खर के भयो ।

उनको घरमा त्यो दिन चट्याङ परेको थियो । उनी बसिरहेको कोठाको खाटबाट एक्कासि भुइँमा बजारिए । “घरको गाह्रो छेडेर भित्र पर्दा चिट्काले लागेर खाटमुनि पछारिएँ,” उनी त्यो दिन सम्झँदै भन्छन्, “श्रीमतीलाई खासै चोट लागेन, हकानिएको अवस्था हो, मलाई चोट लागेर अचेत भएको हो ।” 

होस खुल्दा उनी खाटमुनि थिए, टाउको र कुममा चोट लागेको थियो । उनले तत्कालै सदरमुकाममा रहेका छोरा सुवासलाई फोन गरेर बोलाए । उनलाई तत्कालै गाडी रिजर्भ गरेर उपचारको लागि धौलागिरि अस्पताल लगियो । उनलाई टाउको चोट लागेको थियो भने कुममा छर्काले सामान्य घाउ बनाएको थियो । २४ घण्टा चिकित्सकको विशेष निगरानीसहित तीन दिनको उपचारपछि उनी घर फर्किए । 

Gobinda-Gautam-1747652078.jpg
गोविन्द गौतमलाई चट्याङ लागेको कोठा र अस्पतालमा उपचार गराउँदै उनी । तस्बिर सौजन्य : गौतम परिवार

चट्याङले दिएको शरीरको घाउ भरिए पनि उनको मनमा डर भने बसिरहेको छ । “गाह्रो छैन, पहिलाको जस्तै सामान्य अवस्थामा छु भन्न मिल्छ, तर टाउकोमा लागेर हो कि केहीकेही बेला बिर्सिन्छु,” उनी भन्छन्, “चट्याङ लाग्यो भने एकदम नै छिटो डराउँछु, एकदम डर लाग्छ ।” 

घरमा परेको चट्याङबाट गोविन्दप्रसाद त जसोतसो जोगिए । तर चट्याङ लागेका सबै घाइते मात्र हुन्छन् भन्ने छैन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो १४ वर्षमा देशभर १ हजार २ सय ६२ जनाले चट्याङमा परेर ज्यान नै गुमाएका छन् । वैशाख, २०६८ देखि चैत, २०८१ सम्ममा चट्याङबाट ३ हजार ५ सय ५६ जना घाइते भएका छन् । 

त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान, सिभिल इन्जिनियरिङ विभाग र चीनको सिचुआन विश्वविद्यालय र हङकङ पोलिटेक्निक विश्वविद्यालयका वसन्तराज अधिकारीले जुलाई, २०२१ मा अमेरिकन मेट्रोलिजकल सोसाइटीमा प्रकाशन गरेको अनुसन्धनात्मक लेखमा नेपालमा चट्याङ विनाशकारी खतरामध्ये एक रहेको उल्लेख छ । 

गण्डकी प्रदेश प्रहरीको तथ्यांकअनुसार बागलुङमा आर्थिक वर्ष २०७५/२०७६ देखि आर्थिक वर्ष २०७९/२०८० सम्म १९ जनाले ज्यान गुमाएका छन् भने ३९ जना घाइते भएका छन् । जसमध्ये गोविन्दप्रसाद एक हुन् । 

प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार गण्डकीमा सबैभन्दा चटयाङबाट मानवीय असर परेको जिल्ला बागलुङ देखिन्छ । यस अवधिमा गण्डकी प्रदेशभर ३९ जनाले ज्यान गुमाएका छन् भने १ सय ३१ जना घाइते भएका छन् । गण्डकीमा चटयाङबाट ज्यान गुमाउनेमा ४८.७१ प्रतिशत बागलुङका छन् । 

गोविन्दप्रसाद भन्छन्, “चट्याङ आफूलाई परेपछि थाहा हुन्छ, विपद् हो यो, यो विपद्लाई न्यूनीकरण गर्न केही गरिदियो भन्ने हुन्छ । चट्याङ नै नपर्ने गराउन त कसले सक्छ र ? तर नि यसले मानवीय क्षति नहोस् भन्ने लाग्छ ।”

बर्सेनि सयौँको ज्यान लिने चट्याङ, परिवारको बिल्लीबाठ

घरआँगनमा चकचक गर्ने उमेरका दिदीभाइ समीर र सविना असोज ८, २०८१ का दिन घरमै शान्त बसेका थिए । मडारिएको आकाश र उराठलाग्दो मौसमले उनीहरूलाई घरबाहिर दौडिने माहोल बनाएको थिएन । हावाहुरी र झरीमा छोराछोरी घरभित्रै सुरक्षित बसेको देखेर आमा निमकली साहू ढुक्क थिइन् । ढुंगामाटोले बनेको घरको ओत थियो टाउको माथि । तर त्यो ओतले चट्याङ छेकेन । दाङको घोराही उपमहानगरपालिका–११ मा रहेको उनको घरमा चट्याङ पर्‍यो । चटयाङमा परेर तीन वर्षीय समीरले ज्यान गुमाए । ४२ वर्षीय निमकली र ६ वर्षीया सविना घाइते भए । 

कामका लागि भारतमा रहेका प्रेम शाही घरमा चट्याङ परेको खबर सुनेर फर्किए । उनी आउँदा छोरा गुमाइसकेका थिए भने श्रीमती र छोरी अस्पतालको शय्यामा । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० दिन श्रीमती र छोरीको उपचार गराएर उनीहरू घर फर्किए । तर छोरा गुमाएको घरमा परिवारलाई लिएर बस्न प्रेमलाई मन छैन । 

“सर्न खोजेको हो, सर्नुपर्ला भनेको अझै सरेको छैन,” प्रेमले सुनाए । छोरा गुमाएको पीडासँगै निमकली शारीरिक पीडा पनि लिएर बसेकी छन् । उनले बेलाबेला शरीर दुखेको गुनासो सुनाइरहने प्रेम बताउँछन् । उनले जिल्ला प्रशासन कार्यालय, दाङबाट २ लाख, लुम्बिनी प्रदेश सरकारबाट १ लाख र उपमहानगरपालिकाबाट २५ हजार रुपैयाँ राहत पाएका छन् । 

पाँचथरको हिलिहाङ गाउँपालिका–४ गोपेटार चौकीमा कार्यरत प्रहरी सहायक हबल्दार पाण्डवकुमार माझी चैत ६, २०८० को राति जिम्मेवारी निभ्याइरहेका थिए । गस्तीमा निस्किएको उनीसहितको टोली हावाहुरी र झरी परेपछि वर्षादी लिन चौकी फर्किएको थियो । 

उनी चौकीको ढोकामा उभिएका बेला चट्याङ पर्‍यो । घाइते उनलाई साथीहरूले जिल्ला अस्पताल लगे पनि उनको ज्यान जोगिएन । पाण्डवकुमारको निधनपछि परिवारको जिम्मवारी र १४ वर्षको छोरीको शिक्षादीक्षा श्रीमती सनिताकुमारी माझीको काँधमा छ । 

यसले चट्याङबाट जुनसकै भूगोलका र जोकोही पनि प्रभावित बन्ने देखाउँछ । राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकले नेपालमा बर्सेनि चट्याङका घटना बढेको देखाउँछ । 

चट्याङका कारण मानवीय क्षति मात्र नभई आर्थिक रूपमा पनि नोक्सानी गरेको छ । पशुपालन र कृषिमा पारेको प्रभावले यसले ग्रामीण भेगका व्यक्तिको जीवनमा प्रत्यक्ष प्रभाव पार्छ । वसन्तराज अधिकारीको अनुसन्धान लेखमै उल्लेख भएअनुसार सन् २०१९ मा करिब डेढ करोड रुपैयाँ बराबरको नोक्सानी भएको थियो । त्यो अध्ययनअनुसार सन् २०१९ मा चट्याङबाट ९४ जनाको मृत्यु भएको थियो भने २ हजार ८ सय ८४ जना प्रभावित भएका थिए ।

जलवायु परिवर्तन : बढ्दो चट्याङको जोखिम

चट्याङबाट प्रभावित हुनेमा नेपाल मात्र छैन, जलवायु प्रकोपका कारण विश्वमा नै चट्याङका घटना बढेका छन् । 

जलवायु विज्ञ डा. धर्मराज उप्रेती जलवायु परिवर्तनका कारण समुद्रको सतहको तापक्रमसँगै चट्याङको जोखिम पनि बढेको बताउँछन् । “समुद्रको तापक्रम कहिले बढ्ने र कहिले घट्ने प्रक्रिया सामान्य हो, तर अहिले त्यो प्रक्रिया असामान्य हुँदै गएको छ,” उनले भने, “यसको असरले गर्दा पानी पर्ने सम्भावना बढी भएको छ, पानी पर्नुअघिको प्रक्रियाका रूपमा चट्याङ पर्छ ।” 

क्यालिफोर्निया विश्वविद्यालयका शोधकर्ता डेबिड रोम्स र उनको टिमले अमेरिकामा केन्द्रित रहेर गरेको अध्ययनबाट तापक्रम वृद्धिले वायुमण्डलमा पानी बाफको मात्र धेरै हुने र यसले चट्याङयुक्त बादलको मात्र पनि बढ्ने हुँदा चट्याङको जोखिम पनि बढ्ने पत्ता लागेको छ । यो अध्ययनबाट पृथ्वीको तापक्रम १ डिग्री सेल्सियस बढ्दा १२ प्रतिशतले चट्याङ बढ्ने प्रक्षेपण गरिएको छ । 

अमृत साइन्स क्याम्पसका प्राध्यापक तथा साउथ एसियन लाइटनिङ नेटवर्कका अध्यक्ष श्रीराम शर्माका अनुसार बंगाल खाडीवरिपरि क्षेत्रमा चट्याङ पर्ने सम्भावन बढी हुन्छ । यसबाट नेपाल पनि टाढा छैन । 

“यो सामान्यतः बंगालको खाडी वरिपरिका क्षेत्रहरू बढी पर्छ,” श्रीरामले भने, “अनि त्यसपछि जहाँ तराई र पहाडको संगम जस्तो हुन्छ, त्यो ठाउँमा पनि बढी परेको पाइन्छ, त्यो भनेको चुरेबेल्ट हो ।” 

न्यूनीकरणका लागि के ? 

चट्याङको जोखिम धेरै भए पनि यसको न्यूनीकरणका लागि सरकारले ध्यान दिन सकेको छैन । चट्याङबाट जोगिनका लागि ठाउँठाउँमा प्रतिरक्षा प्रणाली जडान गर्न सकिन्छ । घरमा ‘अर्थिङ’ जडान यसबाट बच्ने एक उपाय हो । 

चट्याङ विषयमा विद्यावारिधिसमेत गरेका श्रीराम शर्मा भन्छन्, “चट्याङ प्रतिरक्षा प्रणाली जडान गर्न सरकारले सुरु गर्‍यो, गाउँघरमा प्रोत्साहन गर्‍यो भने त्यसले क्षति न्यूनीकरण हुन्छ ।”

जनचेतनादेखि लिएर वार्निङ सिस्टमहरू अलर्ट गर्नका लागि काम गर्नुपर्नेमा जोड दिँदै उनी भूकम्प प्रतिरोधी घर बनाउन जसरी मापदण्ड बनाइएको छ, त्यस्तै मापदण्ड चट्याङका लागि पनि मापदण्ड बनाउनुपर्ने बताउँछन् । 

श्रीरामसहितको ‘नेपालमा चट्याङको खतरा : घटना र मानवीय प्रभाव’ शीर्षकको अनुसन्धानात्मक लेखमा नेपाल चट्याङका लागि जोखिमयुक्त क्षेत्र भए पनि यसको जोखिमलाई कम आकलन गरिएको उल्लेख छ । यसका लागि नीतिगत तहबाट नै अनिवार्य रूपमा नियम बनाउन आवश्यक रहेकोमा श्रीरामले जोड दिए । 

सहरी क्षेत्रका अग्ला केही घरमा अर्थिङ गरिएको छ, जसले सहरी क्षेत्रमा चट्याङ कम गरेको छ । प्राधिकरणको तथ्यांकले पनि सहरी क्षेत्रमा भन्दा गाउँमा चट्याङ धेरै परेको देखाउँछ । 

मानिसहरू आफैं सचेत भएर सहरी क्षेत्रमा प्रतिरक्षा प्रणाली जडान गर्ने अभ्यास सुरु भएको बताउँदै श्रीराम भन्छन्, “सरकारले अनिवार्य गरेर होइन, मानिसहरू आफैँ स्वतस्र्फूत चट्याङले असर गर्छ भनेर राखेको पाइन्छ । नीतिनियमबाट नै प्रतिरक्षा प्रणाली अनिवार्य गर्नुपर्छ ।” 

चट्याङ र क्षति न्यूनीकरणका लागि सरकारको प्रयास 

नेपालमा चट्याङको जोखिम बढ्दो भएकै कारण प्राधिकरण र जल तथा मौसम पूर्वानुमान महाशाखाले सामाजिक सञ्जालमार्फत यसबारेमा सचेतनामूलक सामग्री प्रकाशन तथा प्रसारण गर्दै आएका छन् । 

जल तथा मौसम पूर्वानुमान शाखाका सूचना अधिकारी दिनकर कायस्थले चट्याङको सम्भावित जोखिमबारे सूचना दिइरहेको बताए । “चट्याङको चाहिँ हामीले बादल हेरेर पूर्वानुमान गर्ने हो, बादल मोनिटर गरेर त्यसका आधारमा हामीले पूर्वानुमान गर्ने हो,” दिनकर भन्छन्, “ठ्याक्कै हामीले ठाउँचाहिँ भन्न सकिँदैन तर त्यो बादल जुनजुन ठाउँमा छ, त्यो स्थानमा चट्याङ पर्ने सम्भावना छ भन्ने हो ।” 

चट्याङको जोखिम न्यूनीकरणका लागि प्राधिकरणले जनचेतना दिने खालका सूचनामूलक सामग्री उत्पादन गरिरहेको प्राधिकरणकी सञ्चार विज्ञ रञ्जना श्रेष्ठ बताउँछिन् । उनले चट्याङ मात्र नभएर सबै प्रकारका विपद्बारे नागरिकलाई सूचित गराउने र सचेतना जनाउने बताइन् । 

“चट्याङका लागि सचेतनाका काम गरिरहेका छौँ, सामाजिक सञ्जालमार्फत सचेतनामूलक प्रकाशन गरिरहेका छौँ,” प्राधिकरणका सूचना अधिकारी रामबहादुर केसीले बताए, “कसरी चट्याङबाट बच्ने, अब गड्याङगुडुङ गर्‍यो भने के काम गर्ने, के नगर्ने भनेर श्रव्यदृश्य सामग्री बनाएका छौँ ।” 

यसबाहेक प्राधिकरणले रिजनल इन्टिग्रेटेड मल्टी हर्जाड अर्ली वार्निङ सिस्टम (राईमस) सँगको सहकार्यमा चट्याङको पूर्वसूचनाबारे काम गरिरहेको छ ।

प्राधिकरणअन्तर्गत विपद् अनुसन्धान, मापदण्ड निर्धारण तथा क्षमता विकास शाखाका उपसचिव राजेन्द्र शर्माले राईमससँगको सहकार्यमा पूर्वानुमानका विषयमा काम अघि बढेको तर यो नागरिकस्तरमा पुग्ने गरी प्रभावकारी हुन बाँकी नै रहेको बताए । 
“चट्याङ कुन कुन स्थानमा पर्दै छ भन्ने जानकारी दिने एउटा स्याटलाइट मोनिटरिङ मोडल छ, अहिले खास त्यसबाट धेरै त गर्न सकेका छैनौँ,” उनले भने । 

उपसचिव राजेन्द्रका अनुसार राईमस संस्थासँगको समन्वयमा अघि बढाइएको प्रविधिले चट्याङ पर्नु आधा घण्टा वा त्योभन्दा केही घण्टाअघि पूर्वानुमान लगाउन सकिन्छ । स्याटलाइटको सहयोगमा पूर्वानुमान गर्न बादलको गतिविधि अवलोकन गरिन्छ । 

उदाहरणका लागि, काठमाडौंमा चट्याङ पर्‍यो भने आधा घण्टापछि त्यो बादल कहाँ पुग्छ भनेर अध्ययन गरी पूर्वानुमान गर्ने खालको प्रविधि रहेको उनले स्पष्ट पारे । यो प्रविधिलाई चाँडै नै सर्वसाधारण नागरिकको स्तरमा पुर्‍याउनेमा उपसचिव राजेन्द्र आशावादी छन् । 

कसरी पर्छ चट्याङ ?

पानी पर्ने बेलामा बिजुली चम्किनु, आकाश गड्याङगुडुङ गर्नु र चट्याङ पर्नु प्राकृतिक प्रक्रिया हो । बादलमा रहेका पानीका थोपा, बरफ र हिउँका टुक्रा तलमाथि गइरहेका हुन्छन् । यस्तै वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु वा बादल एकआपसमा ठोक्किइरहेको पनि हुन्छ । 

यसरी वायुमण्डलमा घर्षण हुँदा त्यहाँ विद्युतीय लहर उत्पन्न हुन्छ । जसले गड्याङगुडुङको आवाजसँगै बिजुली चम्किन्छ । यसै क्रममा आकाशमा तयार भएको विद्युतीय चार्ज जमिनमा खस्ने प्रक्रिया नै चट्याङ हो । त्यो चार्ज मानिसका घर, टावर, रूखबिरुवा, ढुंगा जहाँ पनि खस्न सक्छ । जहाँ त्यो चार्ज खस्छ, त्यसले क्षति गर्छ । 

वायुमण्डलमा हुने घर्षणबाट ठूलो शक्ति उत्पन्न हुन्छ । वैज्ञानिकहरूले एक पटक बिजुली चम्किँदा १२ करोड ५० लाख भोल्टको करेन्ट उत्पन्न हुने र त्यहाँ ३० हजार डिग्री सेन्टिग्रेटसम्म तापक्रम पुग्ने बताएका छन् । 

चट्याङ कुनै पनि मौसमी प्रणालीसँग जोडिएको हुन्छ । नेपालको मौसमी प्रणालीअनुसार पश्चिमी वायु, स्थानीय वायुका साथै अरब सागर र बंगालको खाडीबाट आउने वायुको प्रभावले वर्षा हुन्छ । वर्षा प्रत्यक्ष रूपमा चट्याङसँग जोडिएको हुन्छ । एकै पटकमा दुई वा दुईभन्दा बढी प्रणाली विकसित भएमा चट्याङको जोखिम धेरै हुने जलवायुविज्ञ डा. धर्मराज उप्रेती बताउँछन् । “पश्चिमी वायु भूमध्यसागरबाट आउँछ, कहिलेकाहीं भूमध्य सागरबाट ठूलो वेबको पश्चिम वायु आयो भने त्यसले चट्याङ लाग्ने सम्भावना धेरै गुणाले बढाउँछ,” उनले भने । 

How-to-be-safe-from-Lightning-NIMJN-1747729722.gif

How-to-be-safe-from-Lightning-NIMJN-1-1747729569.gif
कभर तस्बिर : फागुन ३०, २०७९ को राति ८:५६ मा चितवनको भरतपुरबाट खिचेको चट्याङको दृष्य । तस्बिर : निशा श्रेष्ठ/निमजिन

यो सामग्री पुन: प्रकाशन गर्न चाहनुहुन्छ भने हाम्रो पुन:प्रकाशन नीति अनुसार प्रकाशन गर्नुहोस् । पुन:प्रकाशन निर्देशिका यहाँ छ ।

Comments