Navigation
कञ्चनजङ्‍घा क्षेत्रमा बढ्दो बाढीपहिरो Giri Raj Banskota | May 09, 2025

लोनाक, कञ्चनजङ्‍घा हिमालको आधार शिविरमुनिको अन्तिम गाउँ । कञ्चनजङ्‍घाको आरोहण तथा उत्तरी आधार शिविरसम्म पदयात्रा जानेको बास बस्ने अन्तिम बिन्दु लोनाक नै हो ।

investigation-1719398034.png४,७९० मिटरको उचाइमा रहेको लोनाकबाट आधार शिविर पुगेर एकै दिनमा फर्किन सक्ने भएकाले यहाँ पर्यटकलाई लक्षित गरेर केही होटल खुलेका छन् ।

तर हिमाली क्षेत्रको सानो र सुन्दर ठाउँ लोनाक कतिञ्जेलसम्म रहला र होटल चलाउन पाइएला भन्ने चिन्ता छ व्यवसायी तेञ्जिङ शेराप शेर्पालाई ।

उनले देख्दादेख्दै लोनाकको भौगोलिक स्थिति फेरिएको छ, यस्तै स्थिति रहने हो भने कुनै दिन यो ठाउँ नै नरहने हो कि भन्ने चिन्ता लाग्ने गरेको होटल व्यवसायी तेञ्जिङ बताउँछन् ।

Debris-flow-from-Kanchenjunga-Base-Camp-1746606687.jpg
कञ्चनजङ्‍घा बेसक्याम्पमा बगेर आएको ढुङ्गामाटो । तस्बिर : गिरिराज बाँस्कोटा/निमजिन

संयुक्त राष्ट्रसंघको अन्तरसरकारी जलवायु परिवर्तन प्यानल (आईपीसीसी) ले सन् २०२३ को संश्लेषण प्रतिवेदनले मानवीय गतिविधि, हरितगृह ग्यास उत्सर्जनका कारण पृथ्वीको तापक्रम बढ्दै गएको जनाएको छ ।

पृथ्वीको तापक्रम बढेकै कारण हिमाली क्षेत्रमा भौगोलिक परिवर्तनहरू आइरहेका छन् । यसबाट २ हजार ३५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको कञ्चनजङ्‍घा संरक्षण क्षेत्र पनि अछुतो छैन ।

पर्यटकको मुख्य आकर्षण रहने कञ्चनजङ्‍घा आधार शिविरसम्मको पदमार्गमा ठाउँठाउँमा गएका पहिरो, नयाँनयाँ बनेका हिमतालले यो क्षेत्रमा भइरहेको परिवर्तनलाई संकेत गर्छन् ।

कञ्चनजङ्‍घा परिवर्तनको एउटा उदाहरण हो– लोनाकमा बनेको हिमताल (हेर्नुहोस् कभर तस्बिर) ।

यो हिमताल हरेक वर्ष बढ्दै गएको देखिन्छ । स्थानीय बासिन्दाका अनुसार चौँरी ओहोरदोहोर गर्ने ठाउँमा अहिले ठूलो ताल बनेको हो । बर्सेनि ताल बढ्दै गएको उनीहरूको अनुभव छ ।

“हामीले तालको नामसमेत राखेका छैनौँ, हरेक साल बढिरहेको छ,” तेञ्जिङ भन्छन्, “१०–१५ वर्ष अगाडिसम्म यहाँ चौंरी गोठ थियो, त्यो बेला चौँरी चर्ने ठाउँ ग्लासियल लेक भएको छ, चौँरी वारपार गर्ने ठाउँमा त ताल बन्यो ।”

शेरापको भनाइलाई तेञ्जिङ नुपुको अनुभवले थप पुष्टि गर्छ । दुई वर्ष अगाडि आनिदेश चुली चढ्न जाँदा हिँड्दै गएको ठाउँमा अहिले ताल फैलिएको देखेको उनी बताउँछन् ।

यो हिमतालको पानी घुन्सा हुँदै हान्द्रुङमा आएर तमोर नदीमा मिसिन्छ । यो ताल फुट्यो भने तल्लो तटीय क्षेत्रका खाम्बाचेन, घुन्सासहित हान्द्रुङसम्मै क्षति हुने स्थानीय बासिन्दा बताउँछन् ।

The-Ghunsa-River-located-in-Khambachen-Kanchenjunga-region-1746584830.jpg
पदमार्गमा पर्ने खम्बाचेन नजिकै बाढीले फराकिलो बनाएको घुन्सा खोला । तस्बिर : गिरिराज बाँस्कोटा/निमजिन

कञ्चनजङ्‍घा क्षेत्रमै देखिएको परिवर्तनको अर्को उदाहरण हो– ठाउँठाउँको पहिरो ।

असोज १९, २०८१ मा इटहरीमा गएको पहिरोमा परेर पर्यटकको सहयोगीका रूपमा गएका संखुवासभाको याबुका टीकाबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेत बताउँछन् ।

जापानटारबाट इटहरी हुँदै कञ्चनजङ्‍घा क्षेत्रको पदयात्रा सुरु हुन्छ । पहिरोको जोखिम इटहरीमा मात्र होइन, यहाँबाट ४ दिनको यात्रामा पुगिने कञ्चनजङ्‍घा आधार शिविरसम्मै छ । “यस क्षेत्रको भौगोलिक बनावटसमेत अत्यन्तै भिरालो रहेकोले वर्षात्का समयमा बाढीपहिरोको समस्यासमेत विकराल रूपमा देखिन्छ,’’ कञ्चनजङ्‍घा संरक्षण क्षेत्रको प्रतिवेदनमा उल्लेख छ ।

पूर्वी नेपालमा पर्ने ताप्लेजुङ जिल्लाको उत्तर–पूर्वमा भारत र चीनसँग जोडिएको क्षेत्रलाई २०५४ सालमा कञ्चनजङ्‍घा संरक्षण क्षेत्र घोषणा गरिएको थियो । विश्वकै तेस्रो अग्लो ८ हजार ५८६ मिटरको कञ्चनजङ्‍घासहित ८ हजार मिटरमाथिका ४ तथा ७ हजारदेखि ८ हजार मिटरबीचका १७ वटा हिम चुचुरा यसै क्षेत्रमा पर्छन् ।

पहिरोको जोखिमकै कारण आधार शिविरभन्दा एक घण्टा तलको जोरक्युमा ‘‘टी सप’’ सञ्चालन गर्ने डिकी शेर्पाले आफ्नो पसललाई ‘‘टेन्ट’’मै सीमित गरेकी छन् । “पहिरो गएको गएकै छ, पछिपछि त बाटै त हुँदैन होला, यहाँ घर बनाउन कम्ता पैसा लाग्दैन, बरु होस् है भनेर टेन्टमै छौँ” उनले भनिन् ।

कञ्चनजङ्‍घा आधार शिविर जाने हरेक पर्यटकले जोरक्युका पसलमा चिया, तातो पानी र तातो सुप खाएरै माथितिर उक्लिने हुँदा यहाँ व्यापार पनि राम्रो छ । कञ्चनजङ्‍घा संरक्षण परिषद्का अनुसार आर्थिक वर्ष २०८०/८१ मा १ हजार ८५ जना विदेशी पर्यटकले यो क्षेत्र भ्रमण गरेका छन् । पर्यटक आगमनसँगै रामै्र व्यापार भएकाले लगानी गरेर राम्रै होटल सञ्चालन गर्ने इच्छा भए पनि पहिरोको जोखिम देखेकाले लगानी बढाउन नसकेको डिकी बताउँछिन् ।

जोरक्युबाट आधार शिविरतिर उक्लिने कठिन उकालो बाटो पनि पहिरोले बिगारेको छ । कतै पहिरोले बिगारेको बाटो त कतै पहिरोले थुपारेको ढुंगा र गेगर कञ्चनजङ्‍घामा भइरहेको भौगोलिक परिवर्तनको साक्षी बनेर बसेका छन् ।

Kanchenjunga-and-landslide-1746608113.jpg
पहिरोले थुपारेको गेग्रान । तस्बिर : गिरिराज बाँस्कोटा/निमजिन

समुद्र सतहदेखि ५ हजार १ सय ४२ मिटरको उचाइमा रहेको पांपेमा बेस क्याम्मबाट हिमाल र आँखा आमन्नेसाम्ने हुन्छन् । नीलो आकाशमुनि उभिएको सेतो हिमालको लोभलाग्दो दृश्य देख्न पाइने आधार शिविर पनि पहिरोको चपेटामा परेको छ ।

आधार शिविरको एकछेउतिर भत्किँदै गएको छ भने अर्कोछेउमा पहिरो देखिन्छ । यहाँको हिमनदीले आकार फैलाउँदै लगेको छ । आधार शिविरका ‘टी हाउस’ सञ्चालक तेञ्जिङ नुपु शेर्पा आँखैअगाडि चित्ताकर्षक कञ्चनजङ्‍घा देखिने यो ठाउँको भविष्य के होला भन्ने चिन्तामा देखिन्छन् ।

“हिउँ कम पर्न थाल्यो, ग्लेसियर पग्लिँदै गएर जमिन भत्किएको हुन सक्छ,’ नुपु भन्छन्, ‘‘हिमाली क्षेत्रमा पछिल्ला केही वर्षमा नै ठूलो परिवर्तन देखियो ।’’ पर्यटकलाई सुविधा दिन र आफ्नो व्यापार बढाउन केही संरचना बनाउनुपर्ने भए पनि असुरक्षित देखेर लगानी थप्न नसकेको उनी बताउँछन् ।

यस्तो परिवर्तन कञ्चनजङ्‍घा क्षेत्रमा मात्र होइन, अन्त पनि उस्तै छ । हिमाली क्षेत्रको अध्ययन र अनुसन्धान गरिरहेका मध्यपश्चिम विश्वविद्यालयका विज्ञान प्रविधि संकायका डिन सुदीप ठकुरीका अनुसार हिन्दुकुश हिमालय क्षेत्रमा पछिल्ला वर्षमा अनेकन परिवर्तन भइरहेका छन् । पश्चिममा किर्गिस्तानदेखि पूर्वमा म्यानमारसम्म फैलिएको विशाल हिमालय क्षेत्र नै हिन्दुकुश हिमालय क्षेत्र हो । कञ्चनजङ्‍घासहित नेपालका सबै हिमाल यही क्षेत्रमा पर्छन् ।

landslide-in-Kanchenjunga-1746607750.jpg
पहिरो भत्किँदै गएको ठाउँ । तस्बिर : गिरिराज बाँस्कोटा/निमजिन

कञ्चनजङ्‍घा क्षेत्र पहिरोको रूपमा निक्कै संवेदनशील भएको डिन सुदीपको भनाइ छ । कञ्चनजङ्‍घा क्षेत्र तराईबाट नजिक भएकाले जमिन खुम्चिएर बसेको छ । यसले बाढी, पहिरोलगायत विपद्का घटनाको ठूलो जोखिम रहेको उनी चेतावनी दिन्छन् ।

तापक्रम पनि बढ्दै जाने र हिउँ कम पर्ने कारणले हिमाली क्षेत्रमा असर परेको छ । ५ हजार मिटरभन्दा माथिको उचाइमा जमिन जमेर बसेको हुन्छ । तापक्रम बढ्दा यो सतह कमजोर हुन जान्छ । यसले चट्टान खस्ने, बरफ झर्ने, हिम पहिरो जाने सुदीप बताउँछन् ।

“पछिल्लो समयमा पहिरो जाने, हिमपहिरो, हिमताल विस्फोट, हिमनदी पग्लिँदै गएको, नयाँनयाँ हिमताल बन्ने, भएका हिमताल ठूलो हुँदै जाने देखिन्छ,’’ उनी भन्छन् ।

असार र असोजको बाढीले धेरै क्षति

landslide-in-Kanchenjunga-region-1746585300.jpg
असोजको पहिरोले बिगारेको कञ्चनजङ्‍घा पदमार्गको बाटो । तस्बिर : गिरिराज बाँस्कोटा/निमजिन

कञ्चनजङ्‍घाका भौगोलिक स्थितिमा आइरहेको परिवर्तनमा यसपालि असारदेखि असोजसम्मको बाढीेले थप मलजल गरेको छ । बाढी, पहिरोले यो सिजनमा पर्यटकले निक्कै कठिन बाटो हिँड्नुपर्‍यो । धेरै ठाउँमा पहिरोले बाटो बिगारेको छ ।

कतिपय ठाउँ निक्कै डरमर्दो पनि भएको छ । “ठाउँठाउँमा साह्रै अप्ठ्यारो बाटो थियो, पहिरोले गर्दा कतिपय ठाउँ साह्रै घुमाउरो भएछ,’’ अस्ट्रेलियाबाट घर आएर घुम्न निस्किएका श्रीथुलुङ राईले भने, “सुन्दर ठाउँमा बाढी, पहिरोले दुःख दिएको देख्दा निक्कै नरमाइलो लाग्दो रहेछ ।”

पदयात्रा सुरु हुने जापानटारदेखि इटहरीसम्मको छोटो दूरीको बाटो पहिरोले अवरुद्ध गरेपछि घुमेर निक्कै कठिन यात्रा गर्नुपर्‍यो । नयाँ बाटोमा कतै भर्‍याङ बनाएर त कतै साँघुरो ठाउँमा मुढा राखेर बाटो बनाइएको छ ।

Temporary-bridge-at-Kanchenjunga-trek-route-1746607148.jpg
पहिरोले बाटो बगाएपछि बनाइएको फड्के । तस्बिर : गिरिराज बाँस्कोटा/निमजिन

अघि बढ्दै गएपछि पुगिने लामाटारसम्मको पुरानो बाटो घुन्सा खोलाको बाढीले बगाएको छ । पुरानो बाटो छाडेर घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता छ ।

घुन्साभन्दा माथि अनेकन ठाउँ पहिरो गएर हिमाली क्षेत्रलाई थिलथिल बनाएको छ । बाढीले घुन्सा खोलालाई निक्कै फराकिलो बनाएको देखिन्छ भने धेरै ठाउँमा पहिरो पनि छ । घुन्सादेखि तीन शिविरपछि आधार शिविरमा पुगिन्छ ।

योबीचमा अनेकन पहिरो छिचोल्नुपर्छ, जो विगतमा थिएनन् । ठाउँठाउँमा बाटो फेरिएको छ । निक्कै माथिबाट पहिरो आएको देखिन्छ । गाडी पुग्ने जापानटारसम्म भारी बोक्ने खच्चड बाटोका कारण यसपालि आउन सकेनन् ।

नेपालको दोस्रो र विश्वको तेस्रो अग्लो कञ्चनजङ्‍घाको उत्तरी आधार शिविर क्षेत्रमा देखिने गरी भएको परिवर्तनलाई जलवायु परिवर्तनकै कारण मानिन्छ । तर किन यसरी बाढी, पहिरोले क्षति गरिरहेको छ भन्ने आधिकारिक अध्ययन, अनुसन्धान भएको छैन । बाढी, पहिरोले क्षति बढ्दै गएपछि कञ्चनजङ्‍घा संरक्षण क्षेत्र व्यस्थापन परिषद्ले एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) लाई अनुसन्धान गरिदिन भन्दै पत्र लेखेको छ ।

स्मरणीय के छ भने, यो संरक्षण क्षेत्र समुदायमा आधारित हो । बिग्रिएको बाटो स्थानीय पर्यटन व्यवसायी र चौंरी पालकहरूले हिँड्न मिल्ने गरी मर्मत गर्ने गरेका छन् । परिषद्ले ठाउँठाउँको बाटो हरेक वर्ष बनाउँछ । तर पर्याप्त बजेट नहुँदा समस्या परेको परिषद् पदाधिकारीहरूको भनाइ छ ।

संरक्षण परिषद्का कोषाध्यक्षसमेत रहेका र पदमार्गको ग्याब्लामा व्यवसाय गरिरहेका छवाङ शेर्पाका अनुसार यसपल्ट कञ्चनजङ्‍घामा असामान्य हिसाबले बाढीपहिरो गएको छ ।

जल तथा मौसन विज्ञान विभागको लुङथुङ केन्द्रले दिएको तथ्यांकअनुसार सेप्टेम्बर (भदौ १७–असोज १४ गतेसम्म) मा ३७५.७ मिलिमिटर र जुलाई (असार १७ – साउन १६ गतेसम्म) मा ६३१ मिलिमिटर पानी परेको छ ।

पानी परेका बेलामा खोल्सीहरूमा पनि ठूलो बाढी आएको स्थानीय बासिन्दा बताउँछन् । त्यतिबेला पहिरोले ढुंगा, रोडा, माटो बगाएर खोलामा पुर्‍याएको देखिन्छ ।

landslide-near-Ghunsa-on-the-way-to-Kanchenjunga-trek-route-1746608463.jpg
घुन्सा नजिकै पहिरोले थुपारेको गेग्रान । तस्बिर : गिरिराज बाँस्कोटा/निमजिन


कतिपय ठाउँको पहिरोले भूगोललाई थिलथिलसमेत बनाएको भन्दै छवाङ हिमाली क्षेत्रमा विभिन्न परिवर्तन देखिएको बताउँछन् । ‘‘तापक्रम बढ्दै गएको अनुभव हामीले गरेका छौँ, हिउँ पर्ने सिजनमा कमै मात्र हिउँ पर्छ, अस्ति (असोजमा) गएको बाढी, पहिरोले बिगारेको बाटो अझै बनाउन सकिएको छैन्,’’ उनी भन्छन्, ‘‘मेरै जीवनकालको पछिल्ला दशकमा यो हिमाली क्षेत्रमा धेरै फरकफरक अनुभूति गरेको छु ।’’

असामान्य गर्मी, वर्षा र पहिरो

कञ्चनजङ्‍घा क्षेत्रमा चौँरी गोठालो गरेका, पर्यटन व्यवसाय गरेका तथा स्थानीय बासिन्दाहरू हिउँ समयमा नपर्ने, गर्मी बढ्दै जाने, दिउँसो चर्को घाम लाग्ने गरेको अनुभव सुनाउँछन् । मौसममा आएको यो परिवर्तनसँगै अन्य परिवर्तन पनि देखिएका छन् । “हामी सानैदेखि यही उकाली ओराली गर्दै छौँ, धेरै कुरा फेरिएको अनुभूति हुने गरेको छ,’’ छवाङ भन्छन् ।

उनका अनुसार उत्तिसको रुख ठ्ङग्याम मास्तिरसम्म मात्र थियो, अहिले फले भन्ने ठाउँको मुुन्तिर बगरसम्म उम्रिएको छ । विषालु सर्प ठ्ङग्यामभन्दा माथि देखिएको थिएन । अहिले त्योभन्दा माथि ग्याब्ला भन्ने ठाउँमा देखिन्छ ।

असोजमा उच्च भागमा परेको हिउँ र तल्लो भागमा भएको वर्षाले क्षति गरेको फक्ताङलुङ गाउँपालिका ६ का वडा सदस्यसमेत रहेका शेराप बताउँछन् । “हिँउ नपर्ने समयमा हिउँ पर्छ, यसपालि असोजमा हिउँ पर्‍यो, यो हिउँ पर्ने समयनै होइन, यही बेला ठूलो क्षति पुग्यो,’’ शेरापले भने । उनका अनुसार ४ हजार ७८० मिटरको उचाइमा रहेको लोनाकमा बिहान बेलुका अत्याधिक जाडो हुन्छ भने दिउँसो चर्को घाम लाग्छ ।

लोनाककै अर्का व्यवसायी तेञ्जिङ शेर्पाले जमिनमुनिको बरफ पग्लिएर नसोचेको ठाउँमा पनि पहिरो गएको अनुभव गरेका छन् । उनी भन्छन्, “जमिनमुनि आइस हुन्छ, त्यही बिलिएर पहिरो भत्किएको हो ।”

पहिले हिँडेर ग्लेसियर पास गरेको ठाउँमा अहिले ताल बनेको तेञ्जिङ बताउँछन् । पहिला तेर्सैतेर्सो आधार शिविरसम्म जान सकिने भए पनि अहिले पहिरोले घुम्नुपर्ने जानकारी दिँदै उनी भन्छन्, “पहिला स–सानो पहिरो थियो, पछिल्लो वर्ष ठूलो पहिरो गयो ।’’

landslide-on-the-route-from-Khambachen-to-Lona-at-Kanchenjunga-1746607480.jpg
खम्बाचेनदेखि लोनाक जाने बाटोमा खसेको पहिरो । यहाँ बाटो पुरिएकाले ढुङ्गामाथि हिँड्नु पर्छ । तस्बिर : गिरिराज बाँस्कोटा/निमजिन

असोजको अन्तिम सातातिर थान्जेन खर्कमा दिउँसै सुक्खा पहिरो देखेका खाम्बाचेनका पेमा छिरिङ शेर्पा परिवर्तनको यो शृंखला आगामी दिनमा कस्तो होला भन्ने चिन्ता लागेको बताउँछन् । उनी भन्छन्, “यहाँ नहुने कुरा भइरहेको छ, भएको कुरा लोप भएर गएको छ ।”

स्थानीय बासिन्दाको यो अनुभवले मात्र होइन, हिमाली क्षेत्रबारे अध्ययन गरेका अध्येता र जानकारहरू पनि हिमाली क्षेत्रमा देखिएको परिवर्तन सोचनीय भएको बताउँछन् ।

जलवायु परिवर्तन र त्यसले गरेको तापक्रम वृद्धिका कारण यो क्षेत्रमा यस्तो असर देखिएको मध्यपश्चिम विश्वविद्यालयका विज्ञान प्रविधि संकायका डिन सुदीप बताउँछन् । “जलवायु परिवर्तनको सन्दर्भमा कञ्चनजङ्‍घा क्षेत्र निक्कै संवेदनशील छ,’’ उनी भन्छन्, ‘‘नेपालमा मनसुनमा पानी पर्न सुरु हुने क्षेत्र पनि त्यही हो, चैत वैशाखमा निक्कै सुक्खा पनि हुन्छ । मनसुन सुरु भएलगत्तै पहिरो जाने गर्छ ।’’

पछिल्लो ३०/४० वर्षको ट्रेन्ड हेर्दा तापक्रम बढ्दै गएको ठकुरी बताउँछन् ।

१५ प्रतिशतको दरले कञ्चनजङ्‍घा क्षेत्रको बरफ पग्लिँदै गएको अध्ययनले देखाएको डिन सुदीपले बताए । हिउँ पर्नुपर्ने ठाउँमा पानी परिदिँदा पनि पहिरो जाने गरेको उनको भनाइ छ ।

इसिमोडको अध्ययनले पनि हिउँ र बरफ तीव्र गतिमा घट्दै जाँदा मानिस र प्रकृतिमा गम्भीर असर परेको देखाउँछ । विश्वव्यापी तापक्रम वृद्धिका कारण हिन्दुकुश हिमालय क्षेत्रको क्रायोस्फियरमा अभूतपूर्व र ठूलो मात्रामा अपरिवर्तनीय परिवर्तन देखिएको र यसले यो क्षेत्रका २ अर्ब मानिसलाई खतरामा पारेको अध्ययनमा उल्लेख छ । क्रायोस्फियर भन्नाले समुद्री बरफ, ताल वा नदीहरूको बरफ, हिउँ, हिमनदी, बरफका ढिक्का, बरफका पाता र जमेको जमिन बुझिन्छ ।

इसिमोडका अनुसार सन् २०१० को दशकमा अघिल्लो दशकको तुलनामा हिमनदीहरू ६५ प्रतिशत छिटो गायब भएका छन् । यो शताब्दीको मध्यतिर पानीको उपलब्धता उच्चतम स्तरमा पुग्ने र त्यसपछि घट्ने अपेक्षा गरिएको छ, जोखिममा रहेका हिमाली समुदायहरूले पहिले नै ठूला प्रतिकूल प्रभाव भोगिरहेकाको जीवन, सम्पत्ति, सम्पदा, पूर्वाधारमा क्षति, बाढी र पहिरो बढ्ने अनुमान इसिमोडको छ । 

यो सामग्री पुन: प्रकाशन गर्न चाहनुहुन्छ भने हाम्रो पुन:प्रकाशन नीति अनुसार प्रकाशन गर्नुहोस् । पुन:प्रकाशन निर्देशिका यहाँ छ ।

Comments