रमित (परिवर्तित नाम) मंसिर १९, २०८१ को साँझ ७ बजे फेसबुकमा रिल स्क्रोल गर्दै थिए । अचानक ह्वाट्सएप्सको घन्टी बज्यो । ह्वाट्सएप खोलेर भित्र छिरे । देखे, ‘‘+996 227 205 305 added you in a 4 chathu25’ । विदेशी नम्बर +९९६२२७२०५३०५ ले उनलाई ह्वाट्सएपको ग्रुप 4 chathu25 मा जोडेको थियो ।
डिजिटल मार्केटिङ गरिरहेका २४ वर्षीय उनी कुनै इलिगल साइटबाट मेसेज आयो होला भन्ने ठानेर फेरि रिल स्क्रोल गर्न थाले ।
ह्वाट्सएपमा अर्को घन्टी बज्यो । 4 chathu25 ग्रुपमै मेसेज रहेछ । उनले मेसेज खोलेर हेरे । मेसेज थियो, ‘+63 985 064 9647 Removed +996 227 205 305’ ।
उनलाई ग्रुपमा एड गर्ने नम्बरलाई ग्रुपकै अर्को सदस्यले ग्रुपबाट हटाएको थियो । उनी सशंकित भए ।
पछिल्लो समय अनलाइनबाट ठगी भइरहेको भन्ने समाचार सुनेका उनी सशंकित हुनु स्वाभाविक नै हो । किनकि अनलाइन इन्भेस्टमेन्ट, पार्सल, लट्री, गिफ्ट, अनलाइन जबलगायत विभिन्न बहानामा आपराधिक गतिविधिहरू बढिरहेका छन् ।
साइबर ब्युरोका अनुसार चालु आर्थिक वर्षको मंसिरसम्ममा मात्रै ३ हजार ९ सय ७४ वटा साइबर अपराधका घटना दर्ता भएका छन् । जसमा ५६ करोड १३ लाख ३३ हजार २२३ रुपैयाँ ३१ पैसा ठगिएको उजुरी छ । ब्युरोका अनुसार यसरी ठगी गर्नेहरूले ह्वाट्सएप र टेलिग्रामजस्ता म्यासेजिङ एपको प्रयोग गरेको पाइएको छ ।
रमितले यस्तै ठगीको ग्रुप होला भन्ने शंका गरेका थिए । “शंका लागेर ग्रुप लेफ्ट गर्न लागेको थिएँ,” रमितले सुनाए, “एउटा मेसेज आयो अनि अडिएँ ।”
“मैले भर्खर थाहा पाए यो ग्रुपमा छु । तर मलाई थाहा छैन यहाँ के भइरहेको छ,” +८८०१८५३७०४३९४ नम्बरको मेसेज थियो ।
यो मेसेज लगत्तै अर्को मेसेज आयो “यो के हो ?, मेरो नम्बर कहाँबाट पायौ ?”
रमित ग्रुपमा आएका मेसेज पढिरहेकै थिए । लगत्तै +८८०१७७८५५६८१५ बाट लामो मेसेज आयो, “इन्स्टाग्राम प्रमोसन ग्रुपमा तपाईंहरूलाई स्वागत छ । हामीले कुनै सामाजिक साइटबाट तपाईंहरूको नम्बर लिएका होइनौं, हामी तपाईंहरूलाई हानि पुर्याउँदैनौं, ढुक्क हुनुहोस् यो लिगल ग्रुप हो ।”
त्यही नम्बरबाट फेरि अर्को मेसेज आयो, “तपाईंहरूलाई इन्स्टाग्राम प्रमोसन ग्रुपमा स्वागत छ, हामीले तपाईंहरूलाई इन्स्टाग्राम मर्चेन्ट ब्लगरहरूको खाताको ‘रिच’ बढाउनुहोस् र पैसा कमाउनुहोस् भनेर आमन्त्रण गरेका हौँ ।”
पैसा कमाउन उनीहरूले के काम दिएका थिए त ?
रमितले सुनाए, “कामचाहिँ त्यो मर्चेन्ट ब्लगरहरूलाई फलो गर्ने र उनीहरूको पोस्टमा लाइक र कमेन्ट गर्नुपर्ने थियो । त्यसबापत हामीले दैनिक १० देखि २० हजार रुपैयाँसम्म कमाइन्छ भन्ने आश्वासन देखाइयो ।”
ग्रुपमा +८८०१७७८५५६८१५ ले तीनवटा इन्स्टाग्राम खाताको लिंक पठाए । सो खाता फलो गरे वा लाइक गरेमा २ सय रुपैयाँ जम्मा गर्ने बताए । पैसा पाउनका लागि स्क्रिनसर्ट गरेर टेलिग्राममा @Isa5413 लाई पठाउन भनियो ।
यति सजिलै पैसा कमाउन सकिन्छ भन्ने मेसेज देखेपछि रमित लोभिए र तुरुन्तै मेसेज लेखे, “यति गरेबापत पैसा दिन्छ भन्ने के प्रमाण छ ?”
रमितले ग्रुपमै आएको उत्तरमा अरुले पैसा पाएको स्क्रिनसर्ट पाए । यसरी भटाभट सबैले पैसा पाएको स्क्रिनसर्ट देखेपछि उनी त्यो कामप्रति आकर्षित भए ।
“पोस्टमा लाइक गरेको भरमा दिनकै १० देखि २० हजारसम्म कमाइ हुन्छ भनेपछि जो पनि लोभिन्छ,” रमित भन्छन्, “त्यसपछि उनीहरूले अह्राएबमोजिम मैले तीनवटा इन्स्टाग्राम एकाउन्टको पोस्ट लाइक गरें र स्क्रिनसर्ट @Isa5413 लाई पठाएँ ।” महिलाको फोटो प्रोफाइल पिक्चर राखेको @Isa5413 आईडीमा नाम सुष्मा कार्की थियो । ग्रुपमा उनलाई रिसेप्सनिस्ट भनेर चिनाइएको थियो ।
स्क्रिनसर्ट पठाएपछि उताबाट ‘तपाईंको ह्वाट्सयाप नम्बर र उमेर उपलब्ध गराउनुहोस्’ भन्दै मेसेज आयो । भनेबमोजिम नै रमितले नम्बर र उमेर पठाए । पछि उनले आफ्नो ई–सेवा नम्बर पनि पठाए । फेरि सुष्माले मेसेज गरिन्, “१० देखि ३० मिनेटमा तपाईंलाई पैसा पठाइनेछ, धैर्य गर्नुहोस्, पैसा प्राप्त भएपछि स्क्रिनसर्ट पठाउनुहोस् ।” सुष्माले भनेबमोजिम रमित पैसा आउने अपेक्षामा बसे, नभन्दै राति १० बजेर ३२ मिनेटमा उनको ईसेवा अकाउन्टमा दुई सय रुपैयाँ जम्मा भयो ।
सुष्माले आजको काम पूरा भएको र भोलिपल्ट बिहान सवा ९ बजेबाट काम सुरु हुने भन्दै रमितलाई गुडनाइट भनिन् ।
भोलिपल्ट मंसिर २० मा बिहान ११ बजेर ६ मिनेटमा रमितले सुष्मालाई मेसेज गरेर नयाँ टास्क मागे । सुष्माले एउटा ग्रुपको लिंक पठाइन् । रमित ग्रुपमा जोडिए । ग्रुपमा टास्क आयो । अह्राएबमोजिम उनले ११ वटा टास्क सके ।
भोलिपल्ट मंसिर २१ गते उनलाई १२ औँ टास्कमा उनलाई दुई हजार ८० रुपैयाँ लगानी गर्न भनियो । रमितले १२ औँ टास्क गर्न चाहेनन् ।
“१२ औँ टास्कमा लगानी गर्नुपर्छ भनेपछि मैले सुष्मालाई मेसेज गरेँ,” रमितले भने, “सुष्माले ‘यो मर्चेन्ट काम हो, तिमीले लगानी गरेर रेटिङ गरेपछि ३० प्रतिशत बढी रकम फिर्ता आउँछ’ भनेर लोभ्याइन् ।”
२ हजार ८० लगानी गर्दा ३० प्रतिशत बढी रकम, ५ सय रुपैयाँ थप बेनिफिट गरी कुल ३ हजार २ सय ४ रुपैयाँ आउँछ भनेर मेसेज आएपछि रमित हौसिए । सुष्माले भनेअनुसार उनले आग्रह (गोपनीयताका कारण थर उल्लेख नगरेको) नाममा रहेको नबिल बैंकको खातामा मंसिर २१ गते दिउँसो २ बजेर ८ मिनेटमा २ हजार ८० रुपैयाँ जम्मा गरे । स्क्रिनसर्ट सुष्मालाई पठाए ।
सुष्माले एउटा डोमेन www.ig9612.top को लिंक पठाइन् र त्यहाँ खाता बनाउन भनिन् । रमितले खाता खोले । खाता खोलेपछि उनलाई टास्ककोड दिएर म्यानेजर अन्जा टिचरलाई एड गर्न लगाइन् । टेलिग्राममा @TYccnn युजरनेमको आईडीमा महिलाको प्रोफाइल पिक्चर छ र उनको नाम अन्जा टिचर छ ।
रमितले अन्जालाई एड गरेर मेसेज लेखे, “हेल्लो म्याम ।”
अन्जाले रमितलाई जवाफ फर्काइन्, “हेल्लो, कृपया तपाईंको ‘टास्ककोड’ दिनुहोस् ।”
रमितले टास्ककोड पठाए । रमितले जम्मा गरेको २ हजार ८० रुपैयाँ फिर्ता गर्नका लागि पहिले केही काम गर्नुपर्ने र त्यसपछि ‘रिफन्ड’ को प्रक्रियामा जाने भनियो । अन्जा टिचरले भनेबमोजिम नै रमितले आफ्नो www.ig9612.top मा खोलेको एकाउन्ट र रिफन्ड हुनुपर्ने रकम पठाए ।
त्यसपछि रमितलाई सोही एकाउन्टबाट एउटा लिंक पठाएर त्यसमा गएर केही प्रक्रिया (लिंक क्लिक, बाई, कन्फर्म अर्डर) गरेपछि ‘रिफन्ड’ को प्रक्रिया सुरु हुन्छ भनियो । उनले अह्राएबमोजिमको काम गरेपछि रमितको www.ig9612.top मा रहेको खातामा २७०४ जम्मा भएको देखायो ।
यसरी पैसा आएको देखेपछि रमित दंग परे र थप पैसा यसैगरी कमाउन पाए हुन्थ्यो भनि सोच्दासोच्दै अन्जा टिचरलाई मेसेज लेखे, “अब के गर्ने ?”
उताबाट जवाफ आयो, “तपाईंले पहिलो काममै ६२४ रुपैयाँ कमाउनु भएको छ, तपाईंलाई म दोस्रो काम पनि दिन्छु, कृपया सम्पर्कमै रहनुहोस् ।”
त्यसपछि रिफन्डका लागि पुनः सुष्मा कार्कीसँग कुरा गर्न भनियो । उनले रिफन्डका लागि सुष्मा कार्कीसँग कुरा गरे । उनको ई–सेवा खातामा दुई सय रुपैयाँ त जम्मा भयो तर www.ig9612.top को खातामा देखाएको २ हजार ७०४ रुपैयाँ जम्मा भएन ।
सुष्माले मर्चेन्ट कम्पनीले भेरिफाई गर्दै छ भनिन् । उनले रमितलाई रकम फिर्ता गर्नका लागि र थप पैसा कमाउनका लागि ५ हजार ८० रुपैयाँ जम्मा गर्नुपर्ने पनि भनिन् । रमितले उनीहरूले अह्राएअनुसार नै सो रकम अघिल्लो पटक जम्मा गराएको आग्रहको खातामा नै जम्मा गराए ।
५ हजार ८० जम्मा गरेपछि टास्क कोड लिएर रमित पुनः अन्जा टिचरसँग कुरा गर्न पुगे । अन्जा टिचरले जवाफ फर्काइन्, “तपाईंले पेमेन्ट गरेको रकम ग्रुप टास्कका लागि हो, यो कामका लागि २/४ जनासँगै मिलेर गर्ने काम हो, त्यो एउटै समयमा हुनुपर्छ ।”
त्यसपछि सुष्माले रमितलाई अर्को एउटा ग्रुपमा जोडिन् । नयाँ लिंक (हाल एक्टिभ छैन) पठाएर उनलाई ३० हजार रुपैयाँ जम्मा गर्न भनियो । उनले आग्रहको खातामा मंसिर २१ गते ५ बजेर ३९ मिनेटमा ३० हजार रुपैयाँ जम्मा गरेर सुष्मा कार्कीलाई स्क्रिनसर्ट पठाए । “मैले ३० हजार जम्मा गर्ने वित्तिकै सुष्मा कार्कीले ‘पुरानै खातामा किन पैसा जम्मा गरेको नयाँ क्यूआर माग्नु पर्दैन’ भनेर गाली गर्नुभयो,” रमितले स्मरण गरे ।
रमितले अर्कै खातामा रकम जम्मा गरेको भन्दै सुष्माले रकम फिर्ता गर्नका लागि दुईवटा अप्सन दिइन् । पहिलो– ८० हजार जम्मा गरेर १ लाख ६८ हजार ६०४ रिफन्ड गर्ने ।
दोस्रो– १ लाख जम्मा गरेर १ लाख ९८ हजार ६०४ रिफन्ड गर्ने ।
रमितले अन्जालाई सोधे, “यसअघि जम्मा गरेको ५०८० र ३० हजारको के भयो ?”
अन्जाले जवाफ फर्काए, “तपाईंले समयमै टास्क गर्न सक्नुभएन, सिस्टमले तपाईंलाई अन्तिम पोर्टफोलियो अर्डर दिएको छ ।”
पुरानो पैसा गुम्ने डरले रमितले अन्जाले भनेअनुसार ओरेन्ज एनएक्सटीमा रहेको किशोर (गोपनीयताका कारण थर उल्लेख नगरेको) को खातामा मंसिर २१ गते बेलुकी ७ बजेर २१ मिनेटमा ८० हजार जम्मा गरिदिए । ओरेन्ज एनएक्सटी लक्ष्मी सनराइज बैंकको मोबाइल बैंकिङ एप्स हो ।
मंसिर १९ को राति आफ्नो ह्वाट्सएपमा ग्रुप मेसेज आएको ४८ घण्टाभित्रमा रमितले अपरिचित व्यक्तिका दुई भिन्न भिन्न खातामा २ हजार ८०, ५ हजार ८०, ३० हजार र ८० हजार गरी कुल १ लाख १७ हजार १६० रुपैयाँ जम्मा गराइसकेका थिए ।
००० ०००
मंसिर २२ गते बिहान ९ बजेतिर रमितको मोबाइलमा मेसेजको घन्टी बज्यो । पुरानो पैसा रिफन्ड गर्नका लागि अर्को टास्क गर्न उनीहरूले आग्रह गरेका थिए । टास्क थियो– रमितले अर्को खातामा १ लाख ७० हजार जम्मा गर्नुपर्ने ।
उनले त्यो रकम २२ गते बिहान ९ बजेर ३९ मिनेटमा ओरेन्ज एनएक्सटीमा रहेको शिवराजको खातामा हालिदिए । “पुरानो पैसा फर्किने लालसाले घरबाट विदेश जान भनेर पठाएको पैसा जम्मा गराएँ,” रमित भन्छन्, “त्यति पैसा जम्मा गर्दा पनि मेरो रकम रिफन्ड भएन । अनि म अन्जा टिचरसँग कुरा गर्न पुगेँ ।”
अन्जा टिचरले ’धैर्य गर, मैले मेरो सुपरभाइजरलाई भनेको थिएँ, तिमीले समयमा नै पैसा डिपोजिट गर्न सकेनौं, त्यसैले तिम्रो पैसा रिफन्ड हुन नसकेको हो’ भनेर मेसेज लेखे ।
रमितले अन्जा टिचरसँग पैसा फिर्ताका लागि सहयोग मागे । “यो सबैका लागि हुँदैन, तिमी अपवाद हौ, जसले यो अवसर पायौ,” अन्जाले मेसेज फर्काइन्, “मर्चेन्टले तिमीलाई समाधानका लागि एउटा अवसर दिएको छ, तिमीले कम्पन्सेसन प्रिपेड अर्डर गर्नुपर्छ, तिमीले ५ लाख जम्मा गर्यौ भने १२ लाख ९३ हजार ६०४ रिफन्ड हुन्छ ।”
रमित अत्ताल्लिए । आफ्नो बैंक खाता स्क्रिनसर्ट गरेर पठाउँदै अन्जालाई मेसेज लेखे, “मसँग पैसा छैन, मलाई सहयोग गर्नुहोस् टिचर ।”
अन्जाले जवाफ फर्काए, “यो तिम्रो गल्ती हो, मैले भनेको मानेको भए र समयमै पैसा जम्मा गराएको भए यो सब हुँदैन थियो ।”
यसरी बारम्बार गल्ती देखाउन थालेपछि रमित आफ्नै गल्ती हो भन्ने स्वीकार्न बाध्य भए । “आफ्नै गल्ती हुन सक्छ भनि स्विकारेँ र अन्जा टिचरसँग पैसा जुटाउनका लागि समय मागेँ,” रमितले सुनाए, “बिन्ती गरेर पैसा आउँछ कि भनेर रोइकराइ गरेर अन्जालाई मेसेज लेखेँ, तर कुनै पार लागेन ।”
मंसिर २४ गते बिहान १० बजेर ३९ मिनेटमा रमितले ओरेन्ज एनएक्सटीमा रहेको किशोरको खातामा २ लाख, १० बजेर ५३ मिनेटमा लक्ष्मी सनराइज बैंकमा रहेको विश्वमणिको खातामा २ लाख र प्रभु बैंकमा रहेको सपनाको खातामा त्यही दिन ११ बजेर २४ मिनेटमा १ लाख रुपैयाँ जम्मा गरिदिए ।
फरकफरक खातामा गरेर ५ लाख जम्मा गरेर रमितले रिफन्ड प्रोसेसका लागि अन्जासँग कुरा गरे । अन्जाले फेरि पनि गल्ती देखाए र थप पैसा जम्मा गरेपछि मात्रै पैसा फिर्ता हुने बताए ।
रमितले एनआईसी एसिया बैंकमा रहेको आमोशको खातामा ४० हजार, निश्चलको खातामा ४० हजार, सुकदेवको खातामा १ लाख, विशालको खातामा १ लाख, बालकृष्णको खातामा १ लाख २० हजार गरी ४ लाख एकैपटक फरकफरक खातामा जम्मा गराए ।
रमितले १५ दिनभित्रमा १३ पटक गरेर फरकफरक खातामा ११ लाख ७ हजार १ सय ६० रुपैयाँ जम्मा गराइसकेका थिए । उनले www.ig9612.top मा बनाएको खातामा १७ लाख ३३ हजार ६०४ देखाएको थियो । तर अन्जाले भने क्रेडिट स्कोर १०० नपुगेको भन्दै उनको रकम रिफन्ड गर्न नसक्ने भनेपछि रमित छटपटिए ।
“बाबाले मलाई विदेश जानका लागि भनेर पठाइदिनुभएको सबै जसो पैसा मैले इन्भेस्ट गरिसकेको थिएँ, केही रकम बाँकी थियो, आफैंले कमाएको त हिसाबै थिएन,” लामो सुस्केरा तान्दै रमितले सम्झिए, “ केही समय त अलमल्लिए, तर फेरि त्यो पैसा पनि गुम्ने डरले जसरी हुन्छ क्रेडिट स्कोर १०० पुर्याउनुपर्यो भन्ठानेर भटाभट रकम जम्मा गर्न थालेँ ।”
१३ औँ पटकसम्म रकम जम्मा गरेपछि रमितले क्रेडिट स्कोर १०० पुर्याए र रिफन्डका लागि प्रोसेस गरे । अन्जाले उनलाई रिफन्ड कोड दिइन् । तर १० लाखभन्दा धेरै कारोबार भएको भन्दै फाइनान्स डिपार्टमेन्टसँग कुरा गर्नुपर्ने भयो । रमितले पनि अन्जाले अह्राएबमोजिम नै @Tivcaii लाई मेसेज गरे । प्रोफाइलमा महिलाको तस्बिर र नाम Disbursement Commissioner भएकी @Tivcaii लाई रमितले रिफन्ड कोड पठाए । यो पुस ३ गते बिहानको कुरा हो ।
उनले रमितले खाताबाट पैसा निकाल्नका लागि भीआईपी एक्सचेन्ज च्यानल बनाउनुपर्ने बताइन् र त्यसका लागि बैंक डिटेल मागिन् । @Tivcaii ले भनेअनुसार रमितले आफ्नो बैंक खाता पठाए ।
त्यसको केही समयमा रमितको खातामा भागरथी धामको नाममा रहेको खाताबाट १२ हजार रुपैयाँ जम्मा भयो । @Tivcaii ले अब वालेटबाटै पैसा झिक्दा तिम्रै खातामा आउँछ भनेपछि रमित ढुक्क भए ।
तर उनी धेरैबेर ढुक्क हुनै सकेनन् । उनले वालेटमा रहेको विथ ड्र बटममा क्लिक गरे, तर रिजेक्ट देखायो । रमितले @Tivcaii लाई मेसेज लेखे, “कहिले रिफन्ड हुन्छ पैसा ? ”
“फाइनाइन्स डिपार्टमेन्टबाट एकाउन्ट ट्रिगर भएको मेसेज आएपछि त सासै रोकिए जस्तो हुन थाल्यो । मन भतभत पोल्न थाल्यो,” रमितले भने, “फेरि भीआईपी रिक्वारमेन्टको लागि २ लाख ८८ हजार जम्मा गर्नुपर्छ भन्यो, त्यसपछि त झन् आतेस लाग्न थाल्यो ।”
उनीहरूले भनेअनुसार रमितले पुस १५ गते नवीनको खातामा १ लाख, निशाको खातामा २० हजार, गीताकुमारीको नाममा ५० हजार, इमरानको नाममा ५० हजार र हरिको नाममा ६८ हजार गरी दुई दिनमा २ लाख ८८ हजार रुपैयाँ जम्मा गरिदिए । र रिफन्डका लागि प्रोसेस गरे, तर उनको पैसा फिर्ता भएन ।
“फेरि उनीहरूले पनि सुपर भीआईपी मेम्बरसिप लिएपछि मात्रै पैसा फिर्ता हुन्छ भने,” रमित सुनाउँछन्, “सुपर भीआईपी मेम्बरका लागि ८८ लाख डिपोजिट गर्नुपर्ने रहेछ । त्यसपछि म छाँगाबाट खसेजस्तै भएँ ।”
रमितले ठूलो रकम कमाउने लालसमा विदेश जान भनेर घरबाट मगाएको १५ लाख ५५ हजार ३६३ रुपैयाँ एक महिनामै सिध्याए । अहिले उनीसँग न त विदेश जाने पैसा छ, न त परिवारलाई दिने जवाफ नै ।
आफूले जम्मा गरेको पैसा फिर्ता गर्नका लागि थप ८८ लाख जम्मा गर्नुपर्ने भएपछि रमित पुस १८ गते प्रहरी गुहार्न पुगे । “८८ लाख मागेपछि पक्कै म ठगिएँ भन्ने भयो । अनि म उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा पुगेँ,” रमितले भने, “उजुरी दिएपछि प्रहरीले मैले रकम जम्मा गरेकामध्ये एक जनालाई सम्पर्कमा ल्याउनुभयो र उनको खातामा जम्मा गरेको मात्र रकम फिर्ता पाएँ । अरु पैसाको कुनै अत्तोपत्तो छैन ।” प्रहरीमा पुग्दा रमितले विभिन्न व्यक्तिका खातामा १४ लाख ७५ हजार १६० रुपैयाँ जम्मा गरिदिएका थिए ।
रमितजस्ता पीडितहरू प्रत्येक दिन उपत्यका अपराध अनुसन्धान कार्यालयमा पनि पुग्छन् । प्रविधिको विकाससँगै डिजिटल स्पेसमा यस्ता आपराधिक घटनाहरू बढ्न थालेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पछिल्लो तीन आर्थिक वर्षमा मात्रै ३ सय १० जनाले इन्भेस्टमेन्टको नाममा मात्रै ३९ करोड ३५ हजार ५ सय ७८ नेपाली रुपैयाँ ठगीमा परेको भन्दै उजुरी दिएका छन् ।
“प्रविधिको विकाससँगै अपराधको शैली पनि फेरिएको छ । अनेकन अपराधहरू डिजिटल स्पेसमा देखिन थालेका छन्,” उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्य भन्छन्, “पछिल्लो समय अनलाइन माध्यममा हुने अपराधका घटनाहरू दिनहुँ सयौंको संख्यामा दर्ता हुन थालेका छन् ।”
नेपाल राष्ट्र बैंकको स्ट्राटेजिक एनलाइसिस रिपोर्ट २०२४ का अनुसार कोभिड १९ पछि अनलाइन अपराधका घटनाहरू बढेका छन् ।
रमितजस्ता पीडितहरू उपत्यका अपराध अनुसन्धान कार्यालयमा मात्रै आउँदैनन् । साइबर अपराध र केन्द्रीय अनुसन्धान ब्युरोमा पनि अनलाइन ठगीका घटना दर्ता भएका छन् । “ओटीपी, अनलाइन जब, रोमान्स, पार्सल, लट्री तथा इन्भेस्टमेन्टको नाममा हुने ठगीका घटनाहरू बढ्दो छ,” साइबर ब्युरोका प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थी भन्छन् ।
साइबर ब्युरोका अनुसार चालु आर्थिक वर्षमा मात्रै ३ हजार ९ सय ७४ वटा अनलाइन अपराधका घटना दर्ता भएका छन् । यी मध्ये पनि इन्भेस्टमेन्टको नाममा ठगिने मात्रै १४१ जना छन् । ब्युरोका अनुसार ५ महिनामा मात्रै अनलाइनमार्फत ५६ करोड १३ लाख ३३ हजार २२३ रुपैयाँ ३१ पैसा ठगिएको भन्दै उजुरी परेको छ ।
उपत्यका अपराध कार्यालयका अनुसार पछिल्लो आर्थिक वर्षमा मात्रै ३२ करोड ८९ लाख रुपैयाँ भन्दै धेरै ठगिएको भन्दै १ हजार २८३ जनाले उजुरी दिएका छन् ।
नेपाली पैसा बाहिरिँदै
अनलाइनमा आकर्षण देखाएर ठगिएको रकम देश बाहिर निकालिने गरेको अनुसन्धान अधिकारीहरू बताउँछन् । ती अधिकारीका अनुसार, ठगीमा संलग्नहरूले सुरुमा फेसबुक इन्टाग्रामजस्ता सोसल साइटमार्फत घर बसीबसी अनलाइन जब स्पोनसर्ड विज्ञापन गर्छन् । त्यही विज्ञापन देखेर पैसाको आवश्यकता भएका व्यक्तिहरूले शून्य ब्यालेन्समा खाता खोल्छन् । त्यस्तै आम मान्छेहरूले काम पाउने आशामा खोलेको खाताहरूमार्फत रकम देशभन्दा बाहिर लगेर झिक्ने गर्छन् ।
“आफ्नो खातामा आएको पैसा अरुको खातामा ट्रान्सफर गरिदिएबापत २ हजारदेखि २५ सयसम्म दिन्छ भनेपछि अभावमा भएका व्यक्तिहरूले आफ्नो खाता प्रयोग गर्न दिइहाल्छन्,” साइबर ब्युरोका एसपी दीपकराज अवस्थी भन्छन्, “यस्तै सयौं खाताहरूमा लुटिएको पैसा डुल्छ र अन्तिम पटक भारतको सीमाक्षेत्रतिर गएर विथ ड्र भएको देखिन्छ । कतिपय रकमहरू बैंकमार्फत नै नयाँ दिल्लीबाट झिकेको देखिन्छ ।”
अनलाइन अपराधको जालो फराकिलो भएका कारण पीडितहरूले गुमाएको पैसा फिर्ता गर्न गाह्रो पर्ने अनुसन्धान अधिकारीहरू बताउँछन् । “अनलाइन अपराधको सञ्जाल असीमित छ । एउटाको पैसा विभिन्न लेयर (विभिन्न व्यक्तिहरूको खाता) हुँदै देश बाहिरसम्म पुगेको हुन्छ,” उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) आशिष अधिकारी भन्छन्, “यसरी ठगीमा परेको रकमहरू विभिन्न लेयरमार्फत ट्रान्जेक्सन भएको हुन्छ । जसले गर्दा पीडितहरूलाई फसेको रकम फिर्ता हुन्छ भन्ने विश्वास दिन सक्दैनौं । कतिपयको हकमा खातावालाले स्वीकार गरेर फिर्ता भएका पनि छन् ।”
अनुसन्धानमा सकसै सकस
प्रहरी अझै पनि रमितलाई ठगी गर्ने स्क्यामरसँग पुग्न सकेको छैन । त्यसको मुख्य कारण हो स्क्यामरको जालो । स्क्यामरले एउटा खाताबाट आएको रकम निकाल्न १० देखि २० वटा लेयरको प्रयोग गर्छ । यी सबैको कुराकानी ह्वाट्सएप, टेलिग्रामजस्ता म्यासेजिङ साइटहरूबाटै हुन्छ । स्क्यामरहरू सोसल साइटमै बढी सक्रिय हुन्छन् । जुन प्रहरीको पहुँचमा हुँदैन, तसर्थ प्रहरीले मुख्य स्क्यामरलाई पक्राउ गर्न सक्दैन ।
५ महिनाकै अन्तरालमा साइबर ब्युरोमा मात्रै ३ हजार ९७४ उजुरी दर्ता भए पनि ठगी गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउन सकिएको छैन ।
केन्द्रीय प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षमा ९४ जना मात्रै पक्राउ परेका छन् । पक्राउ परेकामध्ये ६४ जनामाथि मात्रै मुद्दा चलाइएको छ । यसो त ४ वर्षमा १९ सय ८० जना पक्राउ परेका छन् । उजुरीको तुलनामा पक्राउ पर्नेहरूको संख्या निकै कम हो ।
प्रहरी संयन्त्र प्रविधिमैत्री नहुँदा अनुसन्धानमा जटिलता भएको प्रहरी अधिकारीहरू बताउँछन् । “यदि स्क्यामरले सिम प्रयोग गरेको भएदेखि हामी उनीहरूलाई ट्रेस गर्न सक्थ्यौँ, तर उनीहरू अनलाइनमार्फत नै कुराकानी गर्छन्, अनलाइनमा पनि ह्वाट्सएप र टेलिग्राम त झन जटिल माध्यम हो,” एसपी अवस्थी भन्छन्, “यी माध्यमहरूबाट केही पनि निकाल्न सकिन्न । जति इमेल लेखे पनि जे मागे पनि कुनै रेस्पोन्स नै आउँदैन । यो हाम्रा लागि प्राविधिक जटिलता हो ।”
स्क्यामरहरूले अनधिकृत रूपमा अरुको खाता प्रयोग गर्नुका साथै मृत व्यक्तिको नाममा समेत खाता बनाएर ठगी गर्छन् । “स्क्यामरले प्रयोग गर्ने रुट खोज्न पनि सजिलो छैन, एउटै रुट हुँदैन, उनीहरूले फरकफरक खाताबाट हजारौँ खाता डुलाएर ठगी गरेको हुन्छ,” एसपी आचार्य भन्छन्, “यसरी रुट खोज्दै जाँदा कतिपय खातावालाको मृत्यु नै भइसकेको हुन्छ, यस्ता अवस्थामा कसलाई पक्रने, कसलाई कारबाही गर्ने ?”
प्रहरीभित्रको प्राविधिक जटिलतालाई बुझेर नै स्क्यामरहरू थप सक्रिय भएको हुन सक्ने पूर्वडीआईजी राजीव सुब्बा पाण्डेले बताए । “जसरी प्रविधिको विकास भएको छ त्यसैअनुरूप डिफेन्स टेक्नोलोजी बनिसकेको छैन, प्रहरीमा झन् धेरै अभाव छ,” साइबर विज्ञसमेत रहेका सुब्बा भन्छन्, “स्क्यामरहरूले यसैको थप फाइदा उठाउन सक्छन् ।”
पीडित र पीडक छुट्याउनै सकस ?
प्रहरीले मात्रै होइन, पीडितहरूले पनि पीडक छुट्याउन सक्दैनन् । पीडितले केवल पैसा ट्रान्जेक्सन गरेको खातावाला र टेलिग्राम ह्वाट्सएप युजरलाई आरोपी बनाउँछ । प्रहरीले टेलिग्राम वा ह्वाट्सएप युजरलाई ट्रेस गर्न सक्दैन । सक्ने भनेको खातावालालाई मात्रै हो जसको खाता केवल प्रयोग मात्रै भएको हुन्छ । यस्तो अवस्थामा प्रहरीले कसमाथि मुद्दा चलाउने र के मुद्दा चलाउने नै निश्चित हुँदैन ।
“हामीले उजुरीका आधारमा खातावालालाई सम्पर्कमा ल्याउन कोसिस गर्छौं । कोही खातावाला त सम्पर्कमा पनि आउँदैनन् । सम्पर्कमा आएका कतिपय खातावालाहरूलाई आफ्नो बैंक खाताबाट यस्तो कार्य भइरहेको छ भन्ने पनि थाहा हुँदैन,” साइबर ब्युरोका एसपी अवस्थीले भने, “अब त्यस्ताहरूमाथि कसरी मुद्दा चलाउने र के मुद्दा चलाउने ?, त्यसैले हामी यस्तै लेयरहरू पछ्याएर मुख्य स्क्यामरसँग पुग्ने प्रयत्न गर्छौं ।”
रमितकै ठगीमा पनि १५ जनाको खाता प्रयोग भएको थियो । तर प्रहरीले एक जनालाई मात्र सम्पर्कमा ल्याउन सक्यो । सम्पर्कमा आएका व्यक्तिलाई पनि आफ्नो अकाउन्टमा पैसा आएको गएको पत्तो थिएन । रमितले उनको खातामा हालेको रकम ठगीमा संलग्नहरूले अन्तै पठाइसकेका थिए । तर पनि ती खातावालाले मुद्दा मामिलामा नफस्ने भन्दै आफ्नो खातामा आएको जति रकम आफ्नै तर्फबाट रमितलाई फिर्ता गरिदिएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए ।
प्रहरीले पक्राउ गरेका सबैमाथि मुद्दा दायर पनि गर्दैन, कारण हो उनीहरूमाथि आकर्षित हुने कानुन । पक्राउ परेका मध्ये कतिपयलाई ठगी र विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाइन्छ तर प्रमाणित हुँदैन । “हामीले उनीहरूलाई पुरानै विधिबाट पक्राउ गरिरहेका छौँ,” एसपी अवस्थीले भने “उनीहरूलाई के कस्तो कानुन आकर्षित हुन्छ त्यो पनि टुंगो हुँदैन तथापि हामी कतिपय माथि ठगीको मुद्दा चलाउँछौँ, त्यो पर्याप्त छैन ।”
यस्तो अवस्थामा अपराधीलाई कारबाहीको दायरामा ल्याउनुसँगै पीडितलाई कसरी उसको पैसा फिर्ता गराउने भन्ने ध्याउन्न प्रहरीको हुन्छ । “जटिलताका बाबजुद स्क्यामरलाई कानुनी दायरामा ल्याउनु हाम्रो दायित्व हो, त्यो सँगै पीडितको पैसा फिर्ता ल्याउनका लागि भए पनि हामी मुद्दा नचलाई सहमतिमा केस बन्द गर्छांै,” एसपी आचार्य भन्छन्, “सामान्य खातावालामाथि मुद्दा चलाउनेभन्दा पनि उसले कसरी आम्दानी गरेको छ भनेर हेरेर पीडितले उसलाई पठाएको पैसा फिर्ता गराउनेसम्मको काम हामीले गरिरहेका छौँ ।”
को जिम्मेवार ?
अनलाइनमार्फत हुने अपराधका घटनाहरूमा सबैभन्दा धेरै जिम्मेवार प्रयोगकर्ता आफैं हुने साइबर सुरक्षा विज्ञहरू बताउँछन् । “विश्वमा प्रविधिको विकास जसरी भयो त्यसले पैदा गर्ने जोखिम पनि उत्तिकै छ । यसको प्रयोग गर्न जानिएन भने यसले दुर्घटना पनि निम्त्याउन सक्छ,” पूर्व डीआईजीसमेत रहेका साइबर सुरक्षा विज्ञ राजीव सुब्बा भन्छन्, “यसको सदुपयोग गर्न जानियो भने वरदान हो । दुरुपयोग भयो भने यो अभिसाप हुन सक्छ ।” अनलाइन ठगीमा पर्नुमा पनि प्रयोगकर्ता स्वयं नै जिम्मेवार रहेको उनको दाबी छ ।
साइबर सुरक्षाविज्ञ सम्पन्न श्रेष्ठ पनि यस्ता घटनामा प्रविधिलाई मात्रै दोषारोपण गर्नुभन्दा पनि व्यक्ति स्वयं नै जिम्मेवार हुनुपर्ने बताउँछिन् । “प्रविधि त केवल माध्यम हो, त्यो त सबै व्यक्तिकै नियतमा हुने कुरा हो,” उनी भन्छिन्, “त्यसैले अनलाइन अपराधमा प्रयोगकर्ता स्वयं सचेत हुनुपर्छ, प्रविधिमाथि दोष थुपार्नेभन्दा पनि त्यसको समाधान के हो भन्नेतर्फ सोच्नुपर्छ ।”
यस्तो घटनाहरू बारम्बार दोहोरिनुमा बैंक पनि जिम्मेवार रहेको अनुसन्धान अधिकारीहरू बताउँछन् । “एउटा खाताबाट दिनमा सयौँ पटक रकमान्तर हुँदा त बैंकले सो खातालाई निगरानी गर्नुपर्ने हो तर त्यति पनि ख्याल हुँदैन,” ती अधिकारीले भने, “जो कसैले जसको खाता खोल्न पाउने र बैंकले प्राप्त कागजातहरूलाई राम्रोसँग भेरिफाई नगर्नाले पनि यस्ता घटनाहरू दोहोरिरहन्छन् ।”
अनलाइनमार्फत हुने सबै खाले आर्थिक अपराधका घटनाहरू बैंक तथा वित्तीय संस्थाहरूसँग जोडिन्छ । आफ्ना ग्राहकको खाता उचित ढंगबाट निगरानी गर्न नसक्दा पनि अनलाइन अपराधका घटनाहरू बढ्दै गएको उपत्यका अपराध अनुसन्धानका एसपी आचार्य बताउँछन् ।
“कुनै एउटा व्यक्तिको खाताबाट एकै दिन बारम्बार रकमान्तर भइरहन्छ भने बैंकले त्यसको निगरानी गर्नु आवश्यक छ,” एसपी आचार्यले थपे, “ बैंकले उचित ढंगबाट ’केवाईसी’ भराएको पाइँदैन, अनुसन्धानका क्रममा कतिपय खातावालालाई आफ्नो नाममा खाता छ भन्ने पनि थाहा हुँदैन, यसको मतलब उनको नाममा अरू कसैले अवैध रूपमा खाता खोलेर चलाइरहेका छन्, बैंक जिम्मेवार हुनुपर्दैन ?”
यो सामग्री पुन: प्रकाशन गर्न चाहनुहुन्छ भने हाम्रो पुन:प्रकाशन नीति अनुसार प्रकाशन गर्नुहोस् । पुन:प्रकाशन निर्देशिका यहाँ छ ।